नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो

बीबीसी ।  आगामी शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निम्तो पाएको नेपाली अधिकारीहरूले बताएका छन्।

भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री प्रचण्डसँग बुधवार टेलिफोनमा कुराकानी गरेका थिए।

Advertisement

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी कार्यकालका लागि मोदीलाई “न्यानो र आत्मीय शुभकामना” व्यक्त गरेको उनका एक सल्लाहकारले बीबीसीलाई बताए।

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदा यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डको दोस्रो भारत भ्रमण हुने छ।

सन् २०१४ मा मोदीले शपथ लिँदा आयोजित विशेष समारोहमा तात्कालिक प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।

प्रधानमन्त्री कार्यालय के भन्छ?
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्दप्रसाद आचार्यले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको र शपथग्रहणमा सहभागी हुने विषयमा सल्लाह भइरहेको बताए।

उनले भने, “दुई प्रधानमन्त्रीबीच कुराकानी हुँदा प्रधानमन्त्रीले दिएको न्यानो र आत्मीय शुभकामनाका लागि उहाँ(मोदी)ले धन्यवाद दिनुभयो। (शपथग्रहणमा सहभागिता)का बारेमा छलफल भइरहेको छ।”

दुई प्रधानमन्त्रीबीचको टेलिफोन कुराकानीमा प्रधानमन्त्री मोदीले प्रचण्डलाई आफ्नो शपथग्रहण समारोहमा सहभागी हुनका लागि आमन्त्रण गरेको बुझिएको छ।

सो कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ।”

प्रचण्ड कहिले दिल्ली जालान्?
नेपालको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि शपथग्रहणमा प्रधानमन्त्रीको सहभागिताबारे छलफल चलेको बताए।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बिहीवार अपराह्ण बस्ने मन्त्रिपरिषद्को बैठकले मोदीको आमन्त्रणलाई स्वीकार गर्नेबारे निर्णय लिने बताए। उनका अनुसार प्रधानमन्त्री दाहाल शुक्रवार दिल्लीका लागि प्रस्थान गर्ने सम्भावना छ।

प्रधानमन्त्री मोदीले यस पटक बाङ्ग्लादेश, श्रीलङ्का, भुटान, नेपाल र मोरिशसका नेताहरूलाई आफ्नो शपथग्रहणमा निम्तो दिन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शपथग्रहण समारोहका लागि औपचारिक निम्तो सम्बन्धित देशका परराष्ट्र मन्त्रालय हुँदै बिहीबार नै पठाइने ती खबरहरूमा जनाइएको छ।

श्रीलङ्काका प्रधानमन्त्रीको कार्यालयको सञ्चार हेर्ने निकायले उनी उक्त समारोहमा भाग लिने पुष्टि गरेको विवरण आएका छन्।

भारतमा भर्खरै सम्पन्न संसदीय निर्वाचमा मोदीको भारतीय जनता पार्टीले एकल बहुमत गुमाएको छ। यद्यपि भाजपा सम्मिलित गठबन्धनका साझेदारहरूको समर्थन पाएका मोदी तेस्रो कार्यकाल सत्ताको नेतृत्व गर्न लागेका छन्।

यो चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ शक्तिशाली भएको छ र नेपालका कतिपय परराष्ट्र मामिलाका विज्ञहरूले सो गठबन्धनमा रहेको दलसँग पनि नेपाली नेताहरूले अन्तरक्रिया गर्नुपर्नेमा जोड दिन थालेका छन्।

पहिलोभन्दा के फरक
सन् २०१४ मा प्रधानमन्त्री मोदीको पहिलो कार्यकालको शपथग्रहण समारोहमा उनले दक्षिण एशियाका सबै देशका शीर्ष नेताहरूलाई निम्तो दिएका छन्।

उक्त शपथग्रहण समारोहमा नेपालका तर्फबाट तात्कालिक प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला कोइरालाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए भने दुई देशका प्रधानमन्त्रीबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

मोदीले त्यस बेला नेपालको विकासमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको धारणा राखेको तात्कालिक प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई बताउँछन्। उनी यसपालि पनि मोदीले नेपालका प्रधानमन्त्रीलाई निम्तो दिनु सकारात्मक रहेको ठान्छन्।

उनले भने, “छिमेकीहरूको सम्बन्धलाई ध्यान दिने र आफ्नो नजिकका अनि विश्वासपात्रहरू र कुरा मिल्ने देशका नेताहरूलाई उहाँले बोलाउन खोजेको देखिन्छ।”

भट्टराईले छिमेकी देशहरू भएकाले भारतले यस पटक पाकिस्तान र माल्दिभ्सजस्ता देशका नेतालाई पनि शपथग्रहण समारोहमा निम्तो दिएको भए त्यसबाट सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे।

पछिल्ला महिनाहरूमा माल्दिभ्समा सत्ता परिवर्तनसँगै भारत र उक्त देशको सम्बन्धमा चिसोपन देखिएको थियो।

भारत र पाकिस्तानको सम्बन्ध कैयौँ वर्ष यता कटुतापूर्ण अवस्थामा छ र त्यसका कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको सम्मेलन पनि अवरुद्ध छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु