बीबीसी । कर्णाली नदी माथिको एउटा झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूलाई नदीमा खसालेर अधिकांशलाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। अछामको कालेकाँडा र दैलेखको खिर्कीज्यूला जोड्ने झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूको करिब पाँच घण्टापछि जीवितै उद्धार गरिएको हो। दुई वटा खच्चडको भने मृत्यु भएको छ।
चेतावनी: यो समाचारका कतिपय तस्बिर र विवरणले तपाईँलाई विचलित पार्न सक्छन्। इलाका प्रहरी कार्यालय कालेकाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह फरालले बताएअनुसार अछामको तामकोटबाट दैलेखको खिर्कीज्यूला बजारतर्फ जाँदै गर्दा पुलमा फसेका १३ मध्ये ११ वटा खच्चरलाई जीवितै उद्धार गरिएको हो।
Advertisement

उद्धार कसरी गरियो?
उक्त पुलमा अड्किएका आठवटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसालेर जीवितै उद्धार गर्न सफल भएको असई फरालले बताए। “तीन वटा खच्चडका हकमा भने पुलको जाली काट्दा नदिमा नपरेर ढुङ्गामा पर्ने देखिएकाले डोरीको सहायताले पुलको छेउसम्म ल्याएर बचाइएको थियो,” फरालले भने।

“यस्तो उपाय नलगाएको भए सबै खच्चडहरूको नै मृत्यु हुनसक्थ्यो। उनीहरूले भारी नबोकेकाले मात्र खच्चडहरूलाई बचाउन सजिलो भयो। भारीसहितका हुन्थे भने उद्धार गर्न थप कठिनाइ हुन्थ्यो।” त्यस्तो खालको घटना बिरलै हुने भएकाले सुरुमा प्रहरीहरू समेत के गर्ने, के नगर्ने भनेर दोधारमा परेको असई फरालले बताए।
उनले भने, “प्रहरीसँग न उद्धार गर्ने न त स्रोतसाधन थियो, न सजिलो अवस्था नै।” पुलको दक्षिणतिरको भागका लहरा लच्किँदा खच्चडहरू पुलमा अड्किएका थिए। मृत्यु भएका दुई खच्चडमध्ये एकको पुलमै र एकको नदीमा खस्दा ज्यान गएको बताइएको छ।
‘जीर्ण पुल’
पुल छड्के हुने बित्तिकै खच्चडहरू कराएको दृश्य निकै कारुणिक देखिएको उद्धारमा खटिएका प्रहरीहरू बताउँछन्। “खिया लागेर पुल एकदमै कमजोर अवस्थामा रहेछ। खच्चडहरूको भारले गर्दा एक्कासि लच्किएर पुल नै छड्के भएपछि खच्चडहरू अड्किन पुगे,” असई फरालले बीबीसीसँग भने।

“त्यसैले छेउतिरको जाली काटेर नदीमा झार्ने र डोरी लगाएर जमिनमा ल्याउनुबाहेक अरू विकल्प थिएन।” झण्डै दुई दशकअघि बनेको उक्त पुलको नियमित मर्मत नहुँदा जीर्ण भएर यस्तो अवस्था आएको स्थानीयवासीहरू बताउँछन्।
पुल नजिकै रहेको कालेकाँडा स्वास्थ्य चौकीका इन्चार्ज अर्जुन बलले भने, “तर यसबीचमा मर्मततिर सम्बन्धित निकायहरूले चासो दिएको देखिएन।”

बिहान ९ बजेतिर घटना भएको बताइएको छ। त्यसबारे जानकारी आएलगत्तै सुरक्षाकर्मी परिचालन गरेर उद्धार थालेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए। उनले भने, “११ बजेतिर मात्र हामीलाई जानकारी आयो। जानकारी पाउने बित्तिकै गृह मन्त्रालय, मुख्यमन्त्री कार्यालय लगायतका निकायलाई जानकारी गराएर उद्धार थालेका थियौँ।”
खच्चडहरू अछामका तीन जना व्यवसायीका रहेको बताइएको छ। ती उक्त भेगका लागि पसलका सामानहरू लैजानका लागि ती खच्चडहरू प्रयोग गर्न लागिएको थियो।








