नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनाको तीन वर्षपछि पहिलो पटक महाधिवेशन गर्दैछ, जसलाई नेपालका कम्युनिस्ट पार्टीहरूको चलनचल्तीको परम्परा पछ्याउँदै दशौं महाधिवेशन भनी नाम दिइएको छ । पार्टीका महासचिव घनश्याम भुसाल त्यसको अध्यक्ष पदमा लड्ने तयारीमा देखिन्छन् ।
नेकपा ९एस० का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको दाबेदारी बीच महासचिव भुसालको नाम पनि चर्चामा आइरहेको छ । अनलाइनखबरका लागि बसन्त बस्नेतसँग कुरा गर्ने क्रममा भुसालले आफ्नो दाबी परोक्ष रूपमा पेश गरे नयाँ पार्टीको पहिलो महाधिवेशन हुनुपर्ने, तपाईंहरू दशौं महाधिवेशन पो गर्दै हुनुहुन्छ रु
Advertisement
कम्युनिस्ट पार्टीमा स्वाभाविक हो । २००६ सालमा गठन भएको नेकपाको निरन्तरताको रूपमा हामीले पार्टीलाई लिने गरेका छौं । २०४६ मा चौथो महाधिवेशन गर्दा पनि त्यही नेपाल कम्युनिस्ट पार्टीकै उत्तराधिकारी भनेर मानेका थियौं ।अब यसभन्दा पछि कुनै कम्युुनिस्ट पार्टी जन्मे भने पनि पहिलेकै मिति राख्ने रु
एक किसिमले यो वंशावली जस्तै हो भनौं । हामीले परम्पराका रूपमा यो तरिकालाई मानेका छौं ।
यो वंशावलीमा पुस्तान्तरण कहिले हुन्छ रु
कम्युनिस्ट आन्दोलन मात्रै होइन, समग्र नेपाली राजनीतिमै के छ भने एकपटक माथि पुगेपछि छोड्दै नछाड्ने । यो नियम जस्तै बन्न गएको छ । कि त अरू षड्यन्त्रबाट हटाइनुपर्यो । नत्र सहज लोकतान्त्रिक बाटोबाट कोही हट्न नचाहँदो रहेछ । कांग्रेस, मधेशवादी लगायतमा पनि कम्युनिस्टकै जस्तो समस्या छ ।
तपाईंहरू के गर्नुहुन्छ यो महाधिवेशनमा रु
भर्खरै दस्तावेज लेखनको काम सिध्याएका छौं । यो लामो प्रक्रिया थियो । केही विवाद पनि थिए । मूलभूत प्रश्नमा पनि विभिन्न कोणबाट नेताहरूले बोल्ने काम हुने गथ्र्यो । त्यसलाई एकरूपता दिने कार्यभार अढाइ महिनाजति लगाएर सिध्यायौं । दस्तावेजको काम सकेर अब नेतृत्वको प्रश्नमा छलफल गर्ने बेला आएको छ ।महाधिवेशन आउन दुई हप्ता समय पनि बाँकी छैन, कहिले गर्ने नेतृत्वको बहस रु
पहिलेदेखि नै खासमा नेतृत्वको बहस चलिरहेको छ । हामीले उम्मेदवारी घोषणा गरेपछि मात्रै नेतृत्व चुन्ने बेला आएछ भनी मान्ने कुरा होइन यो । को नेता हुने भन्नेबारे पार्टीमा औपचारिक छलफल नै हुनुपर्छ । मैले यो कुरा नेताहरूलाई पनि भनिसकेको छु ।
उहाँहरूले के जवाफ दिनुभयो त रु
उहाँहरूले ठिक हो भन्नुभयो । एक दिनको एउटा बैठक एजेन्डामा केन्द्रित भएर गर्यौं भने मुलुकको कम्युनिस्ट आन्दोलन, उपलब्धि र क्षति, आगामी पार्टी निर्माण कस्तो हुने भन्ने छलफलले टुंगो लगाउँछ ।
एकैदिनमा कसरी टुंगिन्छ रु
मूलभूत रूपमा टुंगिन्छ । विचार, सिद्धान्त, संगठनका हिसाबले बन्नुपर्ने पार्टी यो हो, त्यसका लागि को कमरेड उपयुक्त हुनुहुन्छ भनी खुलस्त कुरा हुन्छ । या त एक जनामा सहमति हुन्छ, या त प्रतिस्पर्धामा जाने सहमतिमा टुंगो लाग्छ ।
माधवकुमार नेपालले समझदारीबाट नेता टुंगो लगाउने भन्नुभएको छ । झलनाथ खनालले नेतृत्व परिवर्तन गर्नेमा समझदारी भए ठिकै छ, नत्र चुनाव अपरिहार्य छ भन्नुभएको छ । यस्तोमा कसरी सहमति हुन्छ रु
दुवै नेताले भनेको कुरा गलत होइन । सहमतिमै प्रतिस्पर्धा गर्ने वा प्रतिस्पर्धा नगर्ने सहमति गरेर नेतृत्व निर्माण गर्ने कुरा नै हो । मैले यथास्थिति, सन्नाटा, निराशा र विघटनको कुरा गर्ने गरेको छु, जसले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन सक्छ । यो सन्नाटा र यथास्थितिको अवस्था चिर्दै समाजवादी दिशा दिन विचार, संगठन र कार्यशैलीका आधारमा कस्तो पार्टी बनाउनुपर्छ भन्ने छलफल हुने बेलामा म सक्रिय सहभागी हुन्छु ।
त्यसरी सहभागी हुने क्रममा तपाईंले म अब अध्यक्ष बनेर पार्टीको नेतृत्व गर्न सक्छु भन्ने छलफल पनि लैजान सक्ने सम्भावना छ रु
त्यो छलफलमा मैलेभन्दा राम्रो योजना कमरेडहरूले पेश गर्नुभयो भने मैले समर्थन गर्नुपर्छ । जेएन कमरेड र माधव कमरेड वा मेरो मात्रै किन, अरू कमरेड पनि आउन सक्नुहुन्छ । हामीले त्यो छलफलमा आफ्ना दृष्टिकोण राख्नेछौं । जसले सबभन्दा राम्रो दृष्टिकोण राख्छ, त्यो कमरेडलाई अघि बढाउनु हामी सबैको दायित्व हुन्छ ।तर नेतृत्वमा खडा हुनका लागि जुन मनस्थिति चाहिन्छ, त्यो मनस्थिति तपाईंभित्र तयार छ त रु
मेरो मनस्थितिको कुरा गर्दा नवौं महाधिवेशनपछि विचारका हिसाबले म र मेरो समूह अघि बढोस् भनेर धेरै कमरेडले त्यसबेला कुरा गर्नुभएकै थियो । २०६२–६३ सालअघिको राजनीतिक सन्नाटामा नेतृत्वको नालायकी हेर्ने हो भने नयाँ पुस्तामा जानुपर्छ भने देशव्यापी जबर्जस्त छलफल थियो । त्यसबेला हामी बिल्कुलै नयाँ धारणाका साथ आठौं महाधिवेशनमा बुटवल जाँदै थियौं । तर त्यसबेला मलाई लाग्यो– भर्खरै त विचार ल्याउँदैछौं, अहिले यसलाई विकास गरौं, नेतृत्वमा नभिडौं ।
पछि नवौं महाधिवेशनमा जाने बेला झलनाथ खनाल कमरेड बिरामी पर्नुभयो । अबको नेतृत्व के गर्ने भन्ने छलफल हुँदा २०६२–६३ को परिवर्तनलाई हिजोका हाम्रा जडताहरूको आधारमा होइन, उचित मूल्यांकन हुनुपर्छ भन्नेमा हामी ठिक थियौं । त्यसै अनुसार आगामी कार्यदिशा बनाउनुपर्छ भन्ने पनि मानेका थियौं । आठौं महाधिवेशनमा हामी केटा भनिएकाले विचार राख्न त राख्यौं, तर हामी आफैं केन्द्रीय कमिटीमा नभएकाले गर्दा त्यसलाई धेरै वास्ता गरिएन ।
नवौंमा आइपुग्दा त हामी अघि बढिसकेका थियौं । केपी ओली कमरेड यसको विरोधमा हुनुहुन्थ्यो । बीचमा निकै छलफल चल्यो । हाम्रो तर्फबाट नेतृत्वमा जेएन कमरेडलाई अघि बढाउने, अरू विकल्प नै खोज्ने कि हामी आफैं तयार हुने भन्ने छलफल चल्यो । माधव कमरेडसँग लामो छलफल चल्दा उहाँ विचारमा सहमत हुनुभयो । खास प्रतिस्पर्धाको आवश्यकतामा माधव कमरेड त्यसबेला लड्नुभयो ।
तर माधव नेपालले अहिले अनलाइनखबरसँग बोल्ने क्रममा भन्नुभयो– आठौं र नवौं महाधिवेशनमा केही गल्तीहरू भए, अब सच्याउनुपर्छ । के भन्नुहुन्छ रु
माधव कमरेडले त्यसरी भन्नुभएको मैले सुनेको छैन । जनताको बहुदलीय जनवादबारे भन्नुभएको हो भने मदन भण्डारीको विरासत देखाएर कम्युनिस्ट आन्दोलनमा कसले बढ्ता भजाउन सक्छ भन्ने विवाद बाहेक अरू केही छैन । हाम्रो इतिहासको एउटा महान् अग्रजको फोटो समातेर तात्कालिक लाभ लिने प्रयत्न मात्रै चल्यो ।
एकीकृत समाजवादी पार्टी अब जबजको बहसबाट बाहिर आएको हो रु
जबजलाई हामीले निरुपण गरिसक्यौं । सुरुमा हामीसँग पनि अलिकति कोण–प्रतिकोण थिए । कोही कमरेडले जबजको प्याटेन्ट राइट नै हामीसँग छ, छाड्न सकिन्न भन्ने कोणबाट कुरा गर्नुभयो । कोही कमरेडले औचित्य छैन भन्दा हिजो पनि जबजको औचित्य थिएन कि भन्ने कोणबाट पनि सोचियो । तर वैज्ञानिक, वस्तुगत बहस गर्दै गएपछि एउटा निष्कर्षमा पुगिन्थ्यो नै । हामीले जबज भनेको नेपाली क्रान्तिको कार्यक्रम मात्रै थियो, मार्गदर्शक सिद्धान्त थिएन भन्ने निष्कर्षमा पुग्यौं ।








