खजुरा २०८१ असार ३ नेपालले आइतबार सानदार बलिङ गर्दै ट्वान्टी(२० विश्वकप क्रिकेटमा बंगलादेशलाई सानो स्कोरमा आउट गरेको छ । स्पिनरहरूको चम्किलो प्रर्दशनपछि नेपालले टस जितेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९।३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको हो ।सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानको स्पिन मैत्री विकेटमा सोमपाल कामी, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिएपछि नेपालले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध सामान्य लक्ष्य पाएको हो ।नेपालले सानदार सुरुआत गरेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गरी नेपाललाई स्वर्णिम सुरुआत दिलएका थिए । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नजमुल हसनलाई ४ रनमा बोल्ड गरे । पाँचौँ ओभरमा सोमपालले लिट्टन दासलाई १० रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।
पावर प्लेको अन्तिम ओभरमा आफैं बलिङमा आउने कप्तान रोहित पौडेलको निर्णय आश्चार्यजनक थियो । उनले खेलको छैटौं ओभरको चौथो बलमै तोवहिद हृदयलाई सन्दीप लामिछानेबाट सानदार क्याच गराएपछि बंगलादेश पावर प्लेमा ३१–४ को स्थितिमा पुगेको थियो ।भेट्रान महमदुल्लाहलाई रनआउट गरेपछि नेपालले पहिलो १० ओभरमा बंगलादेशलाई ५७–५ को स्थितिमा रोकेको थियो । शकिब अल हसनले ड्राइभ गरेको बलमा महमदुल्लाह नन स्ट्राइकबाट रनका लागि दौडिएपछि हातैको बलबाट गुलशन झाले सन्दीपमार्फत रन आउट गरेका थिए ।रोहितले अनुभवी शकिबलाई पनि लामो समय टिक्न दिएनन् । रोहितको बलमा बिट भएपछि शकिब १७ रनमा एलबीडब्लु आउट भए ।
Advertisement
सन्दीपले जाकर अलीलाई १२ र तान्जिम हसन शकिबलाई बोल्ड गरी ट्वान्टी(२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी बने । सन्दीपले यो सफलता आफ्नो ५४ खेलमा बनाएका हुन् । अफगानिस्तानका रशिद खानले ५३ खेलमा सबैभन्दा छिटो १ सय विकेट लिएका थिए ।
रिशाद हसन ७ बलमा १ चौका र १ छक्का प्रहार गरी १३ रनमा आउट भए । सोमपालले ३ ओभरमा १०, रोहितले ४ ओभरमा २०, सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १७ र दीपेन्द्रले ३।३ ओभरमा २२ रन खर्चे ।नेपाल पहिलो तीन खेलमा २ हार र एक रद्द खेलको नतिजापछि सुपर ‘एट’ को दौडबाट बाहिरिसकेको छ । बंगलादेशले भने नेपाललाई पराजित गरेमात्र दोस्रो चराणमा स्थान सुरक्षित हुन्छ ।
नेपालले दक्षिण अफ्रिकाविरुद्धको अघिल्लो खेलबाट करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको छ । स्पिनरहरूको दबदबा रहेको यस मैदानमा नेपालका मध्यम गतिका प्रमुख बलर अविनाश बोहरा १८ औं ओभरमा पहिलो ओभर लिएर बलिङ गर्न आएका थिए ।
नेपालले दुई दिनअघि यही मैदानमा दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोके पनि १ रनको हार बेहोरेको थियो ।








