हावाहुरीले बाँके र बर्दियामा विद्युत् सेवा अवरुद्ध

बर्दिया । गए राति आएको हावाहुरीका कारण बाँके र बर्दियाका विभिन्न क्षेत्रमा बिद्युत सेवा बन्द भएको छ । नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको हो । बर्दियाको बाँसगढी, बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बिद्युत सेवा अवरुद्ध भएको छ ।

गोरखापत्र अनलाईनको समाचार अनुसार हावाहुरीका कारण बाँकेका कैयौँ स्थानहरूमा विद्युत्का पोलहरू ढलेको र दर्जनौँ स्थानहरूमा तारहरू चुँडिएका कारण नेपालगन्जका केही स्थानहरूमा विद्युत् अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

Advertisement

“गए राति पौने दश बजेको समयमा नेपालगन्जमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानहरूमा विद्युत्का धेरै पोलहरू ढलेका छन्, दर्जनौँ तारहरू चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ ।” नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई।जगन्नाथ लामिछानेले भन्नुभयो ।

“राति देखिनै हामी विद्युत् लाइन मर्मत गरेर सुधार गर्ने प्रयासमै छौँ, नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटा सर्किटमध्ये राति नै दुई वटा सर्किटबाट विद्युत् प्रसारण सुचारु गरेका छौँ, अरू दुई वटा सर्किटका कामहरू अहिले भइरहेको छ ।” उहाँले भन्नुभयो, “बाँकी दुई वटा सर्किटबाट करिब ११ बजेको समयसम्म लाइन प्रसारण गर्ने गरी काममा जुटेका छौँ ।”

चालु भएका दुई वटा सर्किटबाट नेपालगन्जका फुल्टेक्रा, बसपार्क, एयरपोर्ट फिडरको भाटभटेनी, न्यूरोड, बागेश्वरी मन्दिर आसपासका क्षेत्रहरूमा विद्युत् सुचारु भएको र बाँकी दुई वटा सर्किटबाट प्रसारण हुने सदरलाइन, सुर्खेतरोड, वोर्डर साइड, विपी चोकको पश्चिम क्षेत्रलगायतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोहलपुर–नेपालगन्ज प्रसारण लाइनको पिप्रहवा क्षेत्रमा रहेको सुकेको रुखको हाँगा भाँचिएर तारमा खस्दा समस्या उत्पन्न भएको हो । अहिले रुखका हाँगाहरूलाई टुक्रा टुक्रा पारेर काट्ने काम भइरहेको छ । करिब २५ वटा पोलहरू ढलेको उहाँले बताउनुभयो । “यकिन तथ्याङ्क अझै प्राप्त भइसकेको छैन, करिब २५ बढी पोलहरू भाँचिएको अनुमान छ, भाँचिएका पोलहरू बदल्ने र तार विस्तार गर्ने काम अहिले भइरहेको छ ।” ई। लामिछानेले भन्नुभयो ।

पोलमा तारको लोडले तान्दा एक पोल ढल्दा क्रमशः अन्य पोलहरू पनि ढल्ने गरेको उहाँले बताउनुभयो । “सिमेन्टेड पोलहरू बाङ्गिने, नग्ने तथा लचकदार हुँदैनन्, एक पोल ढल्यो भने तारको लोडले नजिक रहेका अन्य पोलहरू पनि क्रमशः तान्दै लैजान्छ र ढल्न पुग्छ ।” उहाँले भन्नुभयो ।

हावाहुरीका कारण गए राति देखि नेपालगन्जका केही स्थानहरूमा बत्ती नहुँदा खानेपानीको समेत समस्या देखिएको छ । बत्ती नभएका स्थानहरूमा नेपाल खानेपानी संस्थानले वितरण गर्ने खानेपानी नआउँदा स्थानीय समस्यामा परेका हुन् । केही समय अघि पनि हावाहुरीका कारण यहाँका करिब दुई सय पोलहरू ढल्दा क्षति भई विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु