‘वायुप्रदूषणदेखि चट्याङसम्मको पूर्वसूचना पनि एसएमएसबाटै’

 

बीबीसी न्यूज- नेपालको मौसमसम्बन्धी मामिला हेर्ने निकायले बाढीबाहेक अन्य विपद्‌बारे पनि पूर्वसूचना दिने प्रणाली विकास गरिरहेको अधिकारीहरूले बताएका छन्।

Advertisement

उक्त प्रणालीको माध्यमबाट धेरै किसिमका मौसमी विपद्‌बारे अग्रिम जानकारी हुने र सतर्कता अपनाउन सहज हुने उनीहरूको दाबी छ। यद्यपि त्यस्तो प्रणाली विकास गर्ने काम सक्न अझै केही वर्ष लाग्न सक्ने अधिकारीहरू बताउँछन्।

कतिपय विज्ञका भनाइमा केही मौसमी विपद्‌बारे पूर्वसूचनाका लागि विवरण सङ्कलन गर्ने र त्यसलाई तत्काल प्रवाह गर्ने प्रणाली जडान गर्न निकै महँगो पर्न सक्छ।

त्यसैले “अधिकारीहरूले भने जसरी” सबै विपद्‌को पूर्वसूचना दिन त्यति सहज नभएको उनीहरू औँल्याउँछन्।

बाढीको पूर्वसूचना ‘प्रभावकारी’
सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्डमा गएको पहिरो तस्बिर स्रोत,RSS
तस्बिरको क्याप्शन,सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्डमा गएको पहिरो पन्छाइँदै
जल तथा मौसम विज्ञान विभागले नेपालमा विसं २०७३ सालदेखि बाढीको पूर्वसूचना दिँदै आएको छ।

अधिकारीहरूले बाढीसम्बन्धी सूचना सङ्कलन गरेर त्यसका आधारमा दिने पूर्वसूचनालाई “प्रभावकारी” भएको बताउँदै आएका छन्।

उनीहरूका भनाइमा नेपालमा जारी गरिने त्यस्ता सूचनामध्ये बाढीसम्बन्धी पूर्वसूचना प्रभावकारी देखिएको कतिपय विज्ञहरूले पनि बताउने गरेका छन्।

अहिले देशका १८० वटाभन्दा बढी जल मापन केन्द्रबाट बाढीसम्बन्धी सूचना सङ्कलन गरेर एसएमएस, सामाजिक सञ्जाल र वेबसाइटका माध्यमबाट पूर्वसूचना जारी गर्ने गरिएको छ।

“बाढीसम्बन्धी पूर्वसूचनाको प्रयासलाई सबै पक्षबाट राम्रो भनिएको छ र यो निकै प्रभावकारी पनि देखिएको छ,” विभागका प्रवक्ता सुनील पोखरेलले भने।

“बाढीको जस्तै अन्य खालका विपद्‌बारे पनि पूर्वसूचना दिनका लागि पनि हामीले नेपाल टेलिकम र एनसेलसँग सम्झौता गरिसकेका छौँ।”

अरू विपद्‌बारे पनि पूर्वसूचना दिने प्रयास
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलका अनुसार अब उच्च वर्षा, पहिरो, हिमताल विस्फोटन, हिमआँधी, उच्च हिमपात, हिमपहिरो, डढेलो, उष्णलहर, शीतलहर, वायुप्रदूषण, हावाहुरी, चट्याङबारे पनि पूर्वसूचना दिइने छ।

“अब यस्ता गतिविधिको सूचनाका आधारमा प्रभावित क्षेत्रमा बासिन्दालाई एसएमएसमार्फत् पूर्वसूचना पठाइन्छ,” पोखरेलले भने।

“हामीले बिस्तारै गर्दै जाने हो, कतिको प्रविधि छ कतिको प्रविधि छैन। प्रविधि नभएकाको पनि विकास गर्दै जाने भनेर दूरसञ्चार सेवाप्रदायकसँग चाहिँ सम्झौता गरिएको हो।”

उनका अनुसार अहिले उष्णलहर वा शीतलहरबारे सहजै त्यस्तो पूर्वसूचना पठाउन सकिने अवस्था छ।

तर चट्याङ र हिमपहिरोलगायत हिमाली क्षेत्रका गतिविधिबारे पूर्वसूचना दिनका लागि अरू प्राविधिक काम गर्नुपर्ने अवस्था छ।

“प्राविधिक क्षमता विस्तारका लागि काम पनि भइरहेको छ, तर अझै कतिपय कुराहरू पूरा हुन बाँकी छन्,” पोखरेलले भने।

हिमाली क्षेत्रको सूचना पाउन अझै समस्या

विश्वभरि नै रुचि भएको जोखिमका दृष्टिकोणले पनि संवेदनशील मानिएको हिमाली क्षेत्रको मौसमी जानकारी लिन अझै प्राविधिक कारणले ढिलो हुने गरेको अधिकारीहरू बताउँछन्।

“हिमाली क्षेत्रमा जीएसएम मोबाइल प्रणालीको नेटवर्क अझै कतिपय स्थानमा लाग्दैन,” पोखरेल भन्छन्, “उपकरण राखिएका स्थानमा पनि हामी स्याटलाइट नेटवर्कको भरमा छौँ।”

“त्यस्ता उपकरणहरूमा सोलर प्यानलका माध्यमबाट विद्युत् व्यवस्था गरिएको छ। त्यसैले कहिलेकाहीँ ‘ब्याकअप’ जाँदा समयमै सूचना नपाउने अवस्था पनि हुन्छ।”

यद्यपि त्यसको समाधानका लागि विभागले हिमाली क्षेत्रमा थप स्टेशनहरू राख्ने र हातबाट चलाउनुपर्ने पुरानो प्रणालीलाई विस्थापित गरेर स्वचालित बनाउने काम सुरु गरेको उनले जानकारी दिए।

केही वर्षदेखि गरिएका कतिपय अध्ययनहरूले नेपालका कतिपय हिमतालहरू विस्फोटनको उच्च जोखिममा रहेको देखाएका छन्।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)ले गरेको एउटा अध्ययनले पनि नेपालका विभिन्न हिमताल उच्च जोखिममा रहेका र कुनै पनि बेला फुट्न सक्ने देखाएको थियो।

त्यस्ता प्रमुख हिमतालमा च्छो रोल्पा, इम्जा च्छो, तल्लो वरुण, थुलागी, पश्चिम चम्जाङ र लुम्दिङलगायत छन्।

तीमध्ये च्छो रोल्पा र इम्जा च्छो हिमतालमा मात्र पूर्वसूचना प्रणाली जडान गरिएको छ।

“तीबाहेक अन्यत्र पनि त्यस्तै उपकरण जडान गर्ने भनेर अध्ययन गराइयो तर थप उपकरणहरू जडान भइसकेका छैनन्,” पोखरेलले भने।

उनका अनुसार पदयात्रीहरू अन्नपूर्ण आधारशिविरतिर जाने मार्गमा भने त्यस्ता उपकरणहरू राख्ने तयारी विभागले गरेको छ।

चट्याङको पूर्वसूचना दिन कति सहज
विभागले चट्याङको पनि पूर्वसूचना दिने योजना बनाएको र त्यसैअनुसार काम गरिरहेको पोखरेलको भनाइ छ।

तर त्यसका लागि प्राविधिक रूपमा सहज अवस्था भने नरहेको विभागका अधिकारीहरू स्वीकार्छन्।

पोखरेलले भने, “चट्याङबारे थाहा पाउने खालको प्रणाली भनेर हामीले सात स्थानमा राखेका थियौँ। त्यसमा पनि एउटाले मात्र राम्ररी काम गरेको थियो।”

“अहिले त्यो प्रणालीले पनि खासै काम गरेको अवस्था छैन तर हामीले स्याटलाइटबाट प्राप्त डेटा हेरेर तथा मौसमसम्बन्धी प्रणाली विकास भएको आधारमा पूर्वसूचना दिन सकिन्छ कि भनेर काम गरिरहेका छौँ।”

चट्याङविज्ञ डा श्रीराम शर्माका अनुसार पूर्वसूचना पाउने अवस्था नहुनु र चट्याङसम्बन्धी सतर्कता नअपनाइँदा नेपालमा चट्याङबाट हुने मानवीय क्षति अझै न्यून हुन सकेको छैन।

त्यसका लागि सबैले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। पूर्वसूचना प्रणाली विकास गर्न सके त्यसले धेरैको ज्यान बचाउन सक्ने उनी ठान्छन्।

नेपालको जल तथा मौसम विज्ञान विभागको त्यस्तो क्षमता विकास भएकोमा भने उनी शङ्का व्यक्त गर्छन्।

“मलाई अहिलेकै संरचना र प्रविधिको भरमा मौसम विभागले चट्याङको पूर्वानुमान गर्ला भन्ने लाग्दैन,” उनले भने।

“गरिहाले पनि त्यो खासै प्रभावकारी नहोला।”

चट्याङ पर्न लागेको कसरी थाहा हुन्छ
यद्यपि तीन किसिमले चट्याङको पूर्वानुमान गर्न सकिने डा शर्मा बताउँछन्।

“पहिलो भनेको बादलमा बिजुली उत्पन्न हुने गतिविधि थाहा पाउने खालको सेन्सर जमिनमा राखेर पूर्वानुमान गर्ने कुरा हो,” शर्माले भने। तर त्यस्तो प्रविधिले सानो क्षेत्रफल (१० देखि २० किलोमिटरसम्म) मात्र अनुगमन गर्न सक्छ।

शर्मा भन्छन्, “यो धेरै खर्चिलो प्रविधि हो र नेपालजस्तो भूबनोट भएको स्थानमा यसका लागि धेरै खर्च गर्नुपर्ने हुन्छ।”

शर्माका अनुसार अर्को विधि भनेको मौसम प्रणाली विकास भएको स्याटलाइट विवरणसहित अन्य वैज्ञानिक विवरणहरूलाई आधार मानेर पनि चट्याङको सम्भावना आकलन गर्न सकिन्छ। त्यसैका आधारमा पूर्वानुमान गर्ने सम्भावना रहने र पूर्वानुमानअनुसार पूर्वसूचना दिनुपर्ने उनको भनाइ छ।

तेस्रो विधि चाहिँ कुनै स्थानमा चट्याङ पर्न थालेपछि त्यसको अवस्था र ‘प्रवृत्ति’ हेरेर कतातर्फ त्यो बढ्न सक्छ भन्ने आधारमा पूर्वसूचना दिनु हो। “यसका लागि एकदमै छोटो समयमा सूचना दिनुपर्ने हुन्छ,” उनी भन्छन्।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु