नेपालगन्ज, असार ६ गते । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएकाे छ ।
Advertisement
स्थानीय पप्पु यादवले दिनुभएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० घर जलेर खरानी भएको हो । उहाँले आगलागी भएलगत्तै नेपालगन्जमा वारुणयन्त्रलाई जानकारी गराउँदा केही समयमा दमकल गाउँ नजिक पुगे पनि गाउँकै छेउमा रहेको कुलो भत्किएकाले दमकल गाउँमा छिर्न नसक्दा ठुलो क्षति भएको बताउनुभयो ।
दमकल गाउँमा छिर्न नसकेपछि प्रहरी र स्थानीयले आगो निभाउन निकै प्रयास गरे पनि अधिकांश घरहरु जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका स्वयंसेवक राम मनोहर यादवले बताउनुभयो । उहाँले आगलागीबाट ३० भन्दा बढी परिवार घरबारविहीन भएको जनाउँदै उनिहरुलाई नजिकैको विद्यालयमा राखिएको बताउनुभयो ।
राप्ती नदीको छेउमा रहेको सो गाउँमा हरेक वर्ष बाढीले ठुलो क्षति पुर्याउँदै आएकोमा यस पटक बाढी आउनुभन्दा पहिले नै आगलागीबाट सबै जलेर नष्ट भएको अर्का स्थानीय तिलक यादवले बताउनुभयो । आगलागीको खबर सुनेर लुम्बिनी प्रदेशका कृषि मन्त्री तथा डुडुवा निवासी भण्डारीलाल यादव तथा पूर्व कृषि मन्त्री विजय यादवलगायत बिहीबार सो गाउँमा पुग्नुभएको छ ।
उहाँहरुले स्थानीय पीडितहरुसँग भेटेर आगलागीको क्षतिबारे जानकारी लिनुका साथै राहातको व्यवस्था गरिने बताउनुभएको स्थानीय बिशेश्वर यादवले बताउनुभयो । उहाँका अनुसार अहिले क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ भने आगलागीबाट धेरै ठुलो परिमाणमा खाद्यान्न, लुगा लत्ता, भाँडा बर्तन, नगद र गरहना जलेको छ । गोरखापत्र अनलाइन ।









