रासस/ बेइजिङ — पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मंगलबार भएको भीषण हावाहुरीसहित भएको वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रान्तीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान सहर सबैभन्दा बढी प्रभावित भएका छन् । सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र नानकाई नगरमा आँधीको धेरै प्रभाव परेको बताइएको छ । जहाँ ठूलो मात्रामा बालीनाली नष्ट हुनुका साथै प्रभावित क्षेत्रका बासिन्दालाई अस्थायी रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
Advertisement
यान्चेङमा स्थानीय समयअनुसार राति ८ः३० बजे सहरको फनिङ काउन्टीमा अर्को आँधी आएको थियो । उक्त आँधीका कारण भुमरीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यससँगै काउन्टीको लुपु र बान्हु नगरमा मुसलधारे वर्षा भएको छ ।
प्रारम्भिक अनुसन्धानमा १ हजार ३ सय ६४ जना प्रभावित भएको, १९९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र १२९ जनालाई अस्थायी रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ । स्थानीय सरकारी विभागहरूबाट उद्धारको काम भइरहेको छ साथै घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।









