काठमाडौँ/ईकान्तिपुर — सांगीतिक समूह नेपथ्यले पहिलो पटक क्यानडामा आफ्नो प्रस्तुति दिने भएको छ । आगामी अक्टोबर १ मा क्यालगरीको ‘दी प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘दी भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुत हुनेछ ।
Advertisement
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेयता नेपथ्यले १६ देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । पछिल्लो समय क्यानडा नेपालीहरूका लागि आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढ्दो छ । ‘केही वर्षअघिसम्म यहाँ नेपाली अनुहार मुस्किलले देखिन्थ्यो,’ टोरन्टोका दिलीप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक स्थल, कलेज, रेस्टुरेन्ट र बाटाघाटामा पनि नेपाली बोलिरहेका मानिस भेटिनु सामान्य भएको छ ।’
नेपाली समुदायले विख्यात ‘म्यासी हल’ मा नेपाली कार्यक्रम हुनु गौरवको कुरा भएको रविन थपलियाको भनाइ छ । क्यानडामा बसोबास गर्दै आएकी लेखिका मञ्जुश्री थापाले पनि उक्त हलमा नेपथ्यको कार्यक्रम हुन लागेकोमा केही समयअघि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी थिइन् ।
ब्यान्डका गायक अमृत गुरुङले क्यानडामा पहिलो पटक कार्यक्रम गर्न लागको भए पनि त्यहाँ बसोबास गर्ने नेपालीको उत्साहले हौसला मिलिरहेको बताउँछन् । ‘दसैंको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं,’ उनले भने, ‘कतिपय प्रशंसकले लामो दूरी तय गरेर पनि कन्सर्ट हेर्न आउने जानकारी दिएका छन् ।’ नेपालबाट क्यानडामा मात्रै कार्यक्रम गर्न नेपाली कलाकार विरलै जाने गरेकामा नेपथ्यले त्यस्तो आँट गरेको नेपालयका किरणकृष्ण श्रेष्ठको भनाइ छ ।
तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् । सांगीतिक टोलीमा ६ संगीतकर्मीसहित प्राविधिज्ञ र व्यवस्थापक गरी १४ जना सहभागी हुने नेपालयले जनाएको छ । स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने कार्यक्रमको टिकट अनलाइनबाट लिन सकिने र विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।









