बाँके । बाँके प्रहरीले गोली प्रहार गरी डुडुवा गाउँपालिका वडा नंं ६ सिखनपुरुवाका ५५ वर्षीय सरमानसिंह सरदारलाई बिहीबार बिहान पक्राउ गरेको छ । उनी डाँका चोरी मुद्दाका फरारी ह्ुन ।
Advertisement
प्रहरीले सिखनपुरवाबाट सरदारलाई पक्राउ गरी हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएको र त्यसक्रममा झडप भएको थियो । झडपका क्रममा हतकडीसहित सरदार भागेको र नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको हो। स्थानीयले प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेको र स्थिती असामान्य भएपछि तीन राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीले हतकडीसहित भाग्दै गरेका सरदार र हतियार खोस्न अघि सरेका नानकसिंह सिखलाई गोली हानी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सरदारलाई दायाँ घुडामुनी र नानकसिंह सखलाई दायाँ खुट्टाको साप्रामा गोली लागेको छ ।
झडपकै क्रममा स्थानीयले हानेको ईट्टा प्रहारबाट ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी पनि घाइते भएका छन् । डाँगीको टाउकोमा र बायाँ हातमा चोट लागि घाइते भएको प्रहरीले जनाएको छ । हवल्दार डाँगीसहित घाइते तीनै जनाको भेरी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ८ः३० बजेको समयमा उक्त घटना घटेको र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको कमाण्डमा जिल्लाबाट थप ३५ जना प्रहरीको टोली खटिई आधा घण्टापछि ९ बजेको समयमा सरदारलाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।









