बबईमा जल सतह बढ्यो : पशुहाट र प्रयागपुरमा नदी कटान सुरु

बर्दिया /ईकान्तिपुर — आइतबार दिउँसो बबई नदी खतराको सतहभन्दा माथिबाट बगिरहेको छ । बबई नदीको चेपाङस्थित जलमापन केन्द्रमा दिउँसो ६ मिटरमाथिबाट पानी बगिरहेको मापन भएको थियो ।

बबई नदीमा जलस्तर बढ्दै गएपछि पशुहाट र प्रयागपुरमा नदी कटान सुरु गरेको छ । यस क्षेत्रमा आपतकालीन काम गर्न बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

Advertisement

बबई नदीको जलस्तर स्थिर भएपनि दाङ लगायत पहाडी भुभागमा अविरल वर्षा भइरहेकाले बाढीको जोखिम रहेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताइन् । बाढी र कटानको जोखिम भएकोले सुरक्षाका सबै अंगलाई उद्दार कार्यमा तैनाथ रहन निर्देशन दिएको उनले बताइन् ।

बाढीको जोखिम मानिएको गुलरियाको ईन्द्रपुर हुँदै टडुवा लगायत हुलाकी सडक आसपासमा पानी बग्न थालेको छ । अविरल वर्षा भइरहेकोले डुवान हुने जोखिम बढेको छ । अविरल वर्षातले गुलरिया–५ प्रयागपुर लगायत जिल्लाका केही घर आसपासमा डुवान भएको छ ।

बबई र कर्णालीमा स्थानीय बगेका काठ समात्न नदी किनारमा जोखिम मोलेर बल्छी तापेर संकलन गरिरहेका छन् । बबई लगायत खोलामा माछा मार्ने र काठ, दाउरा संकलन नगर्न सबैमा स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रहरीले माइकिङ गर्दै सचेत गराएको प्रहरी उपरिक्षक प्रवीण धितालले बताए । यसैबीच कर्णालीमा जलस्तर बढी रहेको छ । दिउँसोसम्म यहाँ करिब ८ मिटर तल पानी बगिरहेको छ । ११ मिटर पुग्न साथ कर्णालीमा बाढी आउने गरेको छ ।

यस भेगमा पर्ने गेरुवा गाउँपालिका–३ लोहारपुरमा अविरल वर्षाले दुई दर्जन बढी घर डुवानमा परेको छ । बर्दियास्थित ३१ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक चित्रांगत दाहालका अनुसार डुवानमा परेका बाढी प्रभावितलाई सुरक्षित स्थानमा राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु