बर्दिया । सदरमुकाम गुलरीयादेखि बारबर्दियाको रम्मापुर जोड्ने जब्दीघाट पुल निमार्णका लागि सरकारले यो वर्षको बजेटमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ । जुन रकम निकै न्युन हो । यो पुल बनाउन झन्डै ४०–५० करोड लागत अनुमान गरिएको छ । हजारौ सर्वसाधारणहरुको आउजाउ गर्ने पुल ३० साउन ०७४ को बाढीमा भासिएको थियो । पुर्ब तर्फ पुल भत्किएपछि आउजाउ ठप्प छ । बारबर्दिया नगरपालिकाले सर्वसाधारणहरुको आउजाउका लागि जब्दी घाट पुलमा २५ लाख रुपैयाँमा ठेक्का दिएको छ । बर्षा लागेपछि सर्वसाधारणहरु एकतर्फी २५ रुपैयाँ तिरेर डुँगा चढेर आरपार गर्न बाध्य छन् ।
सडक डिभिजन, नेपालगन्जका सिनियर डिभिजन ईन्जियर निरज शाक्यले संघीय सरकारले जब्दी घाट पुल निमार्णका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको जनाए । उनका अनुसार पुल निमार्णका लागि यो बजेट निकै कम हो ।
Advertisement
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पालोमा १५ लाख मात्रै बजेट छुट्याएको थियो ।
उक्त पुलले गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्छ । उक्त पुल बनाउन करिब ५० करोड खर्च हुने अनुमान छ ।
जब्दीघाटमा सरकारबाट बजेटको ग्यारेन्टी नहुँदा टेन्डर आह्वान गर्न नसकेको बताउँछन् । ‘यसरी बजेट ग्यारेन्टी नभएपछि टेन्डर आह्वान गर्न सकिएको छैन ।’
कम्तिमा ४५ करोड बजेटको सुनिश्चितता अर्थ मन्त्रालयले गरिदिए काम अगाडि बढ्न सक्ने अधिकारीहरु बताउँछन् । बदिर्याको गुलरिया र बर्दिया नगरपालिका जोड्न बबई नदीको जब्दीघाटमा चार सय ३५ मिटर लामो मोटररेबल पुल बनाउन आव ०६७।६८ पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । १६ करोड ६८ लाखमा सडक विभाग र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । त्यसपछि पप्पुले उक्त पुल निर्माण गर्यो । ०७४ को सुरुवाती महिनामै पुलको निर्माण करिब सकाएर उद्घाटन गर्ने तयारी पनि गरिएको थियो । तर, त्यो पुल उद्घाटन तथा सञ्चालनमा नआउँदै ३० साउन ०७४ मा भासियो ।
पुल भासिएपछि विभाग र निर्माण कम्पनीबीच लामो समयसम्म आरोप–प्रत्यारोप चलिरहेको थियो । त्यसपछि सडक विभागले पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत त्यसको अध्ययन गरेको थियो । अध्ययनका क्रममा त्यस घटनामा निर्माण कम्पनीकै गल्ती देखियो, पुलको पिल्लरमा क्रंकिट हुनुपर्ने ठाउँमा माटो देखिएको थियो । त्यसपछि विभागले ठेक्का तोडेर कम्पनीलाई क्षतिपूर्ति दिनसमेत माग गरेको थियो । तर, कम्पनी पनि अदालतमा गएपछि यो विषय झन् अन्योलमा पुग्यो ।
अझै पनि यस सम्बन्धी मुद्दा विभिन्न अदालनमा विचाराधीन छन् । त्यसले गर्दा विभागले त्यो भत्काउन पनि सकेको छैन, न त कम्पनीले क्षतिपूर्ति नै दिएको छ । तर, पुल नबन्दा स्थानीयले भने निकै दुःख पाउँदै आएका छन् ।
घोषणा गरिएको नयाँ पुल भत्किएको जब्दीघाटभन्दा पाँच सय मिटर उत्तरपट्टि हुनेछ । त्यो पुलको लम्बाइ चार सय मिटर लामो हुनेछ । भत्किएको पुलको ठाउँभन्दा अहिले प्रस्ताव गरिएको ठाउँमा पुल बनाउँदा धेरै सहज हुने पनि बताइएको छ । तर, पुल स्थलगत अध्ययन, सर्वेक्षण तथा डिजाइन केही पनि भएको छैन ।









