बर्दिया — काम सम्पन्न गरेर भ्याट बिल पेस गरे पनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीले बुधबार सडक पूर्वधार विकास कार्यालयमा तालाबन्दी गरेका छन् ।
Advertisement
करिब २० जना निर्माण व्यवसायीले झण्डै ८ करोड रुपैयाँ यस आर्थिक वर्षमा भुक्तानी पाउनु पर्ने भन्दै कार्यालय प्रमुखको कार्यालय कक्षमा तालाबन्दी गरेका हुन् । प्रदेश सरकारले असार २४ गते राति १२ बजे खाता बन्द गर्नुपर्नेमा २२ गते साँझ ६ बजे बन्द गरेको छ ।
निर्माण व्यवसायी संघ, बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसीले काम सम्पन्न गरी बिल पेस गरेर भुक्तानी लिनु पर्नेमा रकम निकासा रोकेकोमा आक्रोश पोखेका छन् । ‘व्यवसायीले बैंकबाट ऋण लिएर सरकारको काम गरेको छ,’ उनले भने, ‘भुक्तानी नपाउँदा निर्माण व्यवसायी सडकमा पुग्ने अवस्थामा पुगेको छ ।’
प्रदेश लेखा नियन्त्रण कार्यालयको निर्माण व्यवसायीको रकम रोक्का गरेपछि निर्माण व्यवसायी आन्दोलित भएका छन् । सडक पूर्वधार विकास कार्यालय, बर्दियाका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले काम सम्पन्न गरेका निर्माण व्यवसायीले बिल पेस गरे पनि प्रदेश सरकारले चालु आवको रकम निकासा नगरेकाले भुक्तानी दिन नसकेको बताए । निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी नपाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।ईकान्तिपुर









