
नेपालगन्ज २६ असार २०८१
बाँकेको जानकी गाउँपालिकाले गाउँसभाको १६ अधिबेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिबेशनबाट नीति तथा कार्यक्रम पारित गरी ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट ल्याएको छ । अगामी आर्थिक बर्ष २०८१÷८२ का लागि गाउँपालिकाका उपाध्यक्ष राम प्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट गाउँसभाको १६औं अधिवेशनबाट बहुमतले पारित भएको छ । गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बजेट पुस्तिका रहेको झोला हस्तान्तरण गरेपछि उपाध्यक्ष यादवले बजेट वाचन गरकी थिइन् । त्यसअघि अध्यक्ष खाँको अनुमतिमा जानकी गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रम पनि सभाका सदस्यहरुले बहुमतले पारित गरेका थिए ।
गाउँसभाको नीति तथा कार्यक्रम र बजेटले शिक्षा, पर्यटन प्रबद्र्धन, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र महिला तथा बिपन्न, रोजगारलाई विशेष प्राथमिकता दिइएको छ । अगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमले वडाको बिकासलाई पनि बढी प्रथामिकता दिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । उनले भने, पालिका स्तरिया योजनासंगै बडा स्तरिय योजनामा बढी बजेट बिनियोजन प्रथामिकता दिएका छौं, अब वडा बाटै जनताको धेरै माग सम्बोधन हुने उनले दाबी समेत गरे ।
गाउँपालिकाले असार १० गते ल्याउनुपर्ने बजेट आन्तरिक विवादका कारण दुई साता ढिला गरी ल्याएको छ । नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म अधिकांस जनताको मागलाई सम्बोधन हुने गरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले बताए । नीति तथा कार्यक्रम माथिको छलफलमा वडा नम्बर ५ का अध्यक्ष एवम् प्रबक्ता टीकानाथ यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंहले आवश्यक सुझाव दिएका थिए ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा सबैभन्दा बढी वडा स्तरीय योजना (पूर्वाधार तथा चालु) तर्फ ५ करोड ४८ लाख बजेट बिनियोजन गरेको छ भने, गाउँपालिका स्तरीय योजनामा ३ करोड ४० लाख, शिक्षामा २ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।
जानकीले आगामी आर्थिक बर्षका लागि सशर्त अनुदानतर्फ संघीय सरकारबाट १९ करोड ७७ लाख र प्रदेश सरकारबाट ९० लाख रुपैयाँ प्राप्त गरेको छ । समानीकरणतर्फ संघीय सरकारको ११ करोड ९९ लाख र प्रदेश सरकारको ८२ लाख ३९ हजार बजेट छ । जानकी गाउँपालिकाले आन्तरिक आम्दानीतर्फ १ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । गाउँसभाको १६औं अधिवेशनमा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सभाको सञ्चालन कर्मचारी राजेन्द्र प्रसाद बाजपेयीले गरेका थिए ।










