बीबीसी । बिहीबार राति पोखराका तीन भिन्नभिन्न ठाउँमा गएको पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माका अनुसार पोखरा पुरञ्चौरमा एकै परिवारका सात जनाको पहिरोले पुरिएर मृत्यु भएको हो।
Advertisement
पहिरोले पुरिएरै पोखरा-३२ चैतपुर, बाह्रबिसेमा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यस्तै मादी गाउँपालिका-११ मा पहिरोमा पुरिएर ८० वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पुरञ्चौरमा घटना घटेको घरको आडैमा रहेको तीन घरमा कतै आंशिक क्षति त कतै सम्भावित जोखिम देखा परेपछि उनीहरूले सामान सारिरहेका छन्।
उक्त घटनापछि पुरञ्चौरमा मानिसहरू एकसाथ शोक र त्रासमा छन्।
त्यस ठाउँमा बिहीवार बिहानैबाट माटो खस्न थालेपछि पीडित परिवारलाई घरमा नबस्न साँझसम्म सल्लाह दिइएको छिमेकीहरू बताउँछन्।
तर छोरी-ज्वाइँ आएको र घरमा बिरामी भएको भन्दै उनीहरूले घर नछाडेको छिमेकीहरूले बताएका छन्।
राति १० बजेतिर खाना खाएर परिवारका सबै जना एकै ठाउँ बसेका बेलामा पहिरो खसेको देखिएको प्रहरीले जनाएको छ। घटना भएका बेला एकजना छोरा भने ढोकाको आडैमा रहेकाले भागेर ज्यान जोगाएका छन्।
पोखराबाट उत्तर पश्चिममा रहेको उक्त घर सडकनजिकै पर्छ र यसअघि जोखिमयुक्त ठाउँका रूपमा नहेरिएको पुरञ्चौरबासीहरू बताउँछन्।









