बीबीसी न्यूज / नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओली चौथो पटक नेपालका प्रधानमन्त्री नियुक्त भएका छन्।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको समर्थनमा दुई दिनअघि नै बहुमत दाबीसहितको हस्ताक्षर बुझाएका ओलीलाई आइतवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ।
Advertisement
शपथ ग्रहण समारोह भने सोमवार बिहान ११ बजेका लागि तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
विसं २०७२ मा करिब १० महिना, विसं २०७४ मा करिब ४० महिना र विसं २०७९ मा करिब ३ महिना गरी जम्माजम्मी साढे चार वर्ष जति प्रधानमन्त्री बनिसकेका ओलीका विभिन्न समयमा विभिन्न प्रधानमन्त्री अवतारका प्रशंसक र आलोचक उत्तिकै छन्।
केपी ओली भन्ने बित्तिकै उनका प्रशंसकका अगाडि आउने मुख्य बिम्ब हो- बारम्बार प्रधानमन्त्री बनेर देशलाई नेतृत्व दिएका, राष्ट्रवादलाई प्रश्रय दिने, दुई पटक मिर्गौला फेर्दा पनि सामान्य झैँ सक्रिय जीवन बिताउने एक जल्दो बल्दो नेता।
उनका आलोचक भने ओलीलाई दुस्साहसी, आफू र आफ्नो पार्टी सत्तामा रहन हरदम रणनीतिक चाल चलिरहने, आफ्नो पार्टी निकट व्यवसायीका लागि नियम कानुनको व्यवस्था नै गरेर उनीहरूको फाइदा हुने काम गर्ने, आफ्नो पार्टीका नेतादेखि अन्य दलका नेताप्रति कतिपयका दृष्टिकोणमा छुद्र कटाक्ष गर्ने व्यक्तिका रूपमा चित्रित गर्छन्।
कान्तिपुर दैनिकमा असार २०८०मा उनले ‘हार’ र ‘अपमान’ लाई मस्तिष्कबाट ‘डिलिट’ गरिदिएको छु भन्ने शीर्षकको लेखमा आफ्नैबारे भनेका छन्: “कहिलेकाहीँ म कसैद्वारा पछारिएँ भने, त्यो मलाई पछार्नेले खुसीयाली मनाइरहेको अवस्थामै प्रत्याक्रमणको तयारी गरिरहेको हुन्छु। यो मानवीय प्रवृत्ति हो । र, म जब पछारिन्छु तत्कालै उठिहाल्छु।”
हुन पनि विक्रम संवत् २०७९को चुनावमा उनको पार्टी संसद्मा पहिलोबाट दोस्रो पार्टी बन्न पुग्यो तर निर्वाचन परिणाम लगत्तै उनी सरकार बनाउने गोटी चाल्ने खेलमा अग्रसर भए।
उनले चुनावी गठबन्धन गरेर पहिलो र तेस्रो दल बनेका नेपाली कांग्रेस र माओवादीबीचको खटपटलाई उपयोग गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफ्ना सांसदलाई मन्त्री बनाए। खबरहरूमा सोही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शक्तिशाली गृहमन्त्री दिलाए।
तर त्यसबेला राजनीतिक घटनाक्रममा तीव्रतर उतारचढाव भयो। कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा प्रचण्डले समर्थन गरेपछि एमाले माओवादी गठबन्धन भत्कियो।
एमाले विपक्षी बन्न पुग्यो तर त्यो धेरै महिना कायम हुन सकेन। फेरि ओली समेतकै सक्रियतामा माओवादी कांग्रेसको गठबन्धन फुटाएर माओवादी नेतृत्वमा एमाले नेताहरू सरकारमा मन्त्री बन्न गए।
एमाले माओवादीको सरकार बनेको केही दिनमै केपी ओली अन्तत: कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका छ्न्।
कांग्रेस एमालेको यो गठबन्धन कति दिन टिक्ला भन्ने संशय व्यक्त गर्नेमा स्वयं निवर्तमान प्रधानमन्त्री अगाडि सरेका छन्।
प्रचण्डले विश्वासको मतको सामना गर्दै गर्दा शुक्रवार संसद्मा दिएको भाषणमा ओलीप्रति कटाक्ष गर्दै भने, “कृपया संसद् समाप्त चाहिँ नपार्नुहोला।”
त्यो कटाक्ष ओलीले उनी प्रधानमन्त्री छँदा अल्पमतमा परेपछि सिफारिस गरेका संसद् विघटनका दुई सन्दर्भप्रति लक्षित थियो।
राजनीतिशास्त्री हरि शर्माको टिप्पणी छ, “ओलीजी दुस्साहसी र साहसी दुवै हो, दुस्साहसी नभै कसरी कसैले दुई दुई पटक संसद् विघटन गर्न सक्छ?”
फाइल तस्बिर तस्बिर स्रोत,GETTY IMAGES
त्यसबेला प्रधानमन्त्रीमा एमालेकै नेता केपी ओली र एमालेकै नेतृ विद्या भण्डारी राष्ट्रपति रहेको समय थियो।
ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि तत्कालीन राष्ट्रपति भण्डारीले विघटन गरेको घोषणा गरेकी थिइन्। त्यस कदमविरुद्ध विपक्षी दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरे। ११ फागुनमा सर्वोच्चले उनको विघटनलाई असंवैधानिक भन्ने फैसला दियो।
७ जेठ २०७८मा दोस्रो पटक ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरे। फेरि दलहरू रिट दायर गर्न सर्वोच्च अदालत पुगे। अदालतमा ओलीको कदम फेरि गलत ठहरियो।
त्यसै क्रममा मनमुटाव बढ्दै जाँदा उनको पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहित २१ सांसद पार्टी छोडेर जाँदा एमाले फुट्न पुग्यो एकीकृत समाजवादी पार्टी जन्मिन पुग्यो।
त्यसैबेला अदालतमा एक मुद्दामाथि सुनुवाइ भएर फैसला आउँदा एमाले माओवादीबीच भएको एकता पनि हठात् टुङ्गियो। त्यसपछि ओली नेतृत्वको एमाले एकातिर, एकीकृत समाजवादी अर्कोतिर र माओवादी अर्कोतिर गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भयो।
तिनै घटनाक्रमलाई औँल्याउँदै वामपन्थीहरूको एकता बचाउन नसकेको र झन्डै दुई तिहाइ बहुमत भएको सरकार पनि सम्हाल्न नसकेको भनेर ओलीको आलोचना हुने गरेको छ।









