बाँके— लामोे खडेरीले मुरझाएका रुखबिरुवामा साउने झरीले प्राण भरिदिएको छ । धान र मकैको हरियालीले खेतबारी ढपक्कै छोपिएको छ । जता हेरौ उतै हरियाली । लाग्छ, हरियोले अरु रंगलाई बिस्थापित गर्न खोजिरहेको छ । वातावरण हरियालीमात्रै छैन, महिलाको पहिरन र हातमा हरियो रंगले एकछात्र राज्य देखिन थालेको छ ।
साउन महिना सुरु भएपछि पश्चिम तराईका महिलाले हरियो चुरा र हरियो पहिरन लगाउने परम्परा छ । सौभाग्यको प्रतिकका लागि उक्त रंगको चुरा, पोते लगाउने धार्मिक विश्वास छ ।
त्यस्तै विवाहित महिलाले सधै सौभाग्य रहन हरियो चुरा लगाउने गरेका छन् । अविवाहित महिलाले राम्रो पति प्राउन र सुखद भावि जीवनको कामना गर्न हरियो रंगको चुरा, पोते र पहिरन लगाउने गर्छन । उनीहरु हातमा मेहदी लगाउँछन् । शिव भगवानको वर्त बस्छन् ।
Advertisement
‘हातमा हरियो चुरा, मेहदी र हरियो रंगको पहिरन मलाई निकै मन प¥यो,’ नेपालगन्जकी कृती शर्मा भन्छिन्,‘जसका हातमा पनि हरियो चुराले ठाउँ पाएको छ । हरियो चुराको ब्यापार बढेको छ ।’
असार अन्तिम सातादेखि हरियो चुराको माग एक्कासी बढेपछि ग्राहकलाई पु¥याउन मुश्किल भएको व्यवसायीहरु बताउँछन् । यहाँका चुरा पसलमा महिलाको भिड देख्न सकिन्छ । विवाहित महिलासंगै किशोरीहरु पनि हरियो चुुरा लगाउने गरेका छन् । सबैजसो महिलाको हात हरियो चुरा र मेहदीले सजिएको छ । नेपालगन्जको एकलैनी, बागेश्वरी मन्दिर आसपासका चुरा पसलमा भीड लाग्ने गरेको हो ।
संस्कृतिबिद डा.राजकुमार सुवेदीले हरियो रंग स्वास्थयताको प्रतिक भएकोले साउनमा यसको प्रयोग बढी हुने गरेको बताए । ‘हरियो रंग प्रकृतिसंग पनि मिल्छ,’ उनले भने । हरियो चुरा र मेदी लगाउने परम्परा मिथिलाबाट बढी प्रचलन रहेको संस्कृतिबिदको भनाई छ । त्यसले संस्कृतिकै रुपमा देशभर फैलिएको छ । तराईका महिलाले मात्रै हरियो चुरा लगाउने परम्पराको सिको अन्य समुदायका महिलाले पनि गरेका छन् ।
‘म जान्ने भएदेखि साउन महिनामा हरियो चुरा र कपडा लगाउँछु । मलाई त्यस बारे धेरै जानकारी छैन तर राम्रो हुन्छ भन्छन् । त्यसैले हरेक वर्षको साउनमा हरियो रंगका पहिरन र चुरामा रमाउँछु,’ नेपालगन्ज १ धम्बोझीकी रचना पराजुलीले भनिन्,‘सबैभन्दा ठूलो कुरा मानिसको विश्वास र आस्था हो । आस्थाले नै मानिसलाई बाँधेको हुन्छ ।’
अमिर सिद्दिकी बैगल स्टोरका मोहम्मद युसुफले साउन यता हरियो चुरा र मेहदीको माग अत्याधिक बढेको बताए । एक सातामा हरियो चुराको मात्रै डेढ लाखको कारोबार भएको उनले बताए ।
भदौसम्म हरियो चुरा लगाउने परम्परा रहेकाले अझै पनि माग नघट्ने व्यवसायीहरु बताउ“छन् । व्यवसायीहरुले चुरा भारतमा ल्याउने गरेका छन् । साउन र भदौलाई चुराको सीजनको रुपमा लिने गरिन्छ । व्यवसायीहरुले भारतबाट ल्याएको चुरा दुई÷तीन दिनमै बिक्री भएर सकिने गरेको छ । महिलाले कम्तिमा कम्तिमा दुई दर्जन चुरा एकसाथ किन्दा माग बढेको हो ।









