चार वर्षमा ३३२ जनाको ज्यान गयो

 

प्युठान, साउन ७ गते । जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रुपमा देखिन थालेको छ । वर्षेनी आत्महत्याका घटना बढ्दै गएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय प्युठानको चार वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिएको छ । जिल्लामा भएको अपराधका घटनामध्ये सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताउनुभयो ।

आर्थिक वर्ष २०७७–७८ देखि २०८०–८१ सम्म ३३२ जनाले आत्महत्या गरेको थापाले जानकारी दिनुभयो । आत्महत्या गर्नेमा १८ वर्षदेखि ४० वर्ष उमेर समुहका व्यक्ति बढी देखिएका छन् । सो समुहका १५२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ६२ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिक ३१ जना छन् ।

प्रहरीले आत्महत्या न्यूनिकरण गर्न विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । सामाजिक विभेद, लैंङ्गिक हिंसाविरुद्ध, कुलतविरुद्ध, बालविवाह विरुद्धका अभियानमा आत्महत्या न्यूनिकरणका सूचना समेत जोड्ने गरेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले बालबालिकादेखि वृद्धवृद्धाले आत्महत्या गरेको हुँदा एउटै कारण मात्र बाधक नरहने बताउनुभयो । “मानिसले त्यतिकै आत्महत्या गर्दैन” उहाँले भन्नुभयो, “समस्याको कारण खोतलेर न्यूनिकरणमा लाग्नुपर्छ” । सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय तथा अनमेल विवाह, घरेलु हिंसा, युवामा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतीले गर्दा आत्महत्याका घटनाहरु बढ्दै गएको उहाँले बताउनुभयो ।

जिल्ला स्तरीय मानवअधिकार सञ्जालका संयोजक पार्वता आचार्यले आत्महत्याका घटना न्युनिकरणका लागि युवामा स्वरोजगार, सचेतनाको कार्यक्रमका साथै मनोवल बढ्नेखालका कार्यक्रममा जोडदिनुपर्ने बताउनुभयो ।गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु