
नेपालगन्ज, मंगलबार १७ चैत २०८२
नेपालगन्जमा अगामी बैशाख दोस्रो सातादेखि आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान तथा होटल व्यवसायको विकास गर्ने उद्देश्यसहित “नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन गर्न लागिएको छ ।
कोभिड महामारीपछि नेपालगञ्जको बजार पूर्ण रूपमा चलायमान हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै आर्थिक गतिविधि बढाउने, पर्यटन प्रवद्र्धन गर्ने र स्थानीय परिकारलाई पहिचान दिलाउने उद्देश्यले “नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना गर्न लागिएको होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कडेलले बताए ।
फेस्टिभल पुष्पलाल चोकस्थित सुशिल कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म बैशाख ११ गतेदेखि ३ दिनसम्म आयोजना गरिनेछ । दिउँसो अत्यधिक गर्मी हुने भएकाले कार्यक्रम साँझपख सञ्चालन गर्ने योजना छ । कार्यक्रमलाई पारिवारिक घुमघामको आकर्षक गन्तव्य बनाउने लक्ष्य लिइएको होटल संघ नेपाल, बाँकेका अध्यक्ष दिवाकर खनाल बताए ।
विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरेर आयोजना गर्न लागिएको यो फेस्टिभल नेपालमै पहिलो कार्यक्रम भएको आयोजकको दाबी छ । यसले स्थानीय व्यवसायमा आर्थिक चलायमानता ल्याउनुका साथै नेपालगञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।फेस्टिभलमा स्थानीय स्वादिष्ट स्ट्रीट फुड, परम्परागत तथा आधुनिक परिकार, विभिन्न पेय पदार्थका साथै सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् । यसले नेपालगञ्जलाई ‘फुड डेस्टिनेसन’ का रूपमा चिनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी आगन्तुकहरूले विभिन्न खानाका स्टल, लाइभ म्युजिक र सांस्कृतिक कार्यक्रमको अनुभव लिन सक्नेछन् । संस्कृतिक कार्यक्रमका लागि भोजपुरी कलाकार प्रिति पासवान र सोनु कुमार आउने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । फेस्टिभल सफल बनाउन २७ सदस्यीय मूल समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ। स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस फेस्टिभलमा सहभागिताका लागि सबैलाई आह्वान गरिएको छ ।










