कृषि ज्ञान केन्द्रले गर्‍यो, स्थानीय तहसंग योजना तर्जुमा गोष्ठी

नेपालगन्ज, सोमबार २३ चैत, २०८२
कृषि ज्ञान केन्द्र बाँकेको आयोजनामा आईतबार स्थानीय तहसंग योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि क्षेत्रका कार्यक्रम तथा बजेटलाई प्रभावकारी बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाँकेले स्थानीय तहसँग समन्वयात्मक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। बाँकेको खजुरामा आयोजित उक्त गोष्ठीमा जिल्लाका विभिन्न पालिकाका कृषि शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय तहको आवश्यकता र प्राथमिकताका आधारमा कृषि विकासका योजना निर्माण गर्ने, बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्ने तथा दोहोरो कार्यक्रमलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको थियो।

Advertisement

 

 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख बिनोद घिमिरेका अनुसार “तलबाट योजना तर्जुमा” गर्ने अवधारणालाई कार्यान्वयनमा ल्याउन गोष्ठी आयोजना गरिएको हो।गोष्ठीमा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले किसानका वास्तविक समस्या सम्बोधन हुने गरी योजना ल्याउनुपर्नेमा जोड दिए । उहाँले हाल किसानहरूले मलखाद अभाव र बजारीकरणमा भोगिरहेका समस्यालाई केन्द्रमा राखेर कार्यक्रम तयार गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख घिमिरेले कृषि योजना तर्जुमा सम्बन्धी प्रस्तुतिकरण दिएका थिए । साथै हालसम्म सञ्चालन भएका कार्यक्रमहरूको प्रगति विवरण र विगतका कार्यक्रमहरूको फ्लोअपसम्बन्धी प्रस्तुति पनि गरिएको थियो।गोष्ठीमा आगामी पाँच प्राथमिकता क्षेत्रहरू प्रस्तुत गरिएको थियो, जसमा प्राविधिक सेवाटेवा विस्तार, बीउ प्रतिस्थापन दर वृद्धि, बाली मूल्य शृङ्खला विकास, दिगो विकासका प्रयास तथा समन्वय, सहकार्य र सहजीकरण रहेका छन्।

 

कार्यक्रमका क्रममा सहभागीहरूलाई समूहमा विभाजन गरी योजना तर्जुमा सम्बन्धी ५/५ वटा योजना संकलन गर्नुका साथै सुझावहरू पनि संकलन गरिएको कृषि प्रसार अधिकृत सन्तोष पाठकले जानकारी दिए ।स्थानीय तहका कृषि प्राविधिकहरूले किसानमुखी कार्यक्रम सञ्चालन गर्न सहकार्य आवश्यक रहेको बताएका छन्। उत्पादन वृद्धि, आधुनिकीकरण, व्यावसायीकरण तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनीहरूको जोड थियो।

 

सहभागीहरूले आफ्ना पालिकामा रहेका कृषि समस्या, सम्भावना तथा प्राथमिकताहरू प्रस्तुत गरेका थिए। गोष्ठीमा बाँके जिल्लाका संघीय, प्रदेश र स्थानीय तहका कृषि शाखा प्रमुख, प्राविधिक कर्मचारी तथा किसानहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु