
बर्दिया बढैयाताल, ६ असार २०८३
बर्दियाको बढैयाताल ४ मा रहेको श्री लावाजुनी कृषक समुहका सदस्यहरुलाई स्थानीय रैथाने जातका बंगुरका पाठापाठी बितरण गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारिया, बर्दियाको अनुदान सहयोगमा शनिवार कृषक समुहका २१ जना किसानहरुलाई जनही २/२ वटाका दरले ४२ वटा बंगरका पाठापाठी बितरण गरिएको समुहका अध्यक्ष रोगाही थारुले बताउनुभयो ।

Advertisement
बंगुर बितरण गर्दै एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारियाका प्रमुख कमला अधिकारीले रैथाने जातको बंगुर संरक्षण गर्ने उद्देश्यले बंगुरका पाठापाठी बितरण गरिएको बताउनुभयो । २ बर्षमा बंगरका पाठापाठी पाएका किसानहरुले एक/एक वटा बंगरका पाठी अर्को किसानलाई दिनु पर्ने बताउनुभयो । जसले स्थानीय जातको बंगुरको संरक्षण तथा बिस्तारमा थप टेवा पुग्ने सुझाव समेत दिनुभयो । उहाँले भन्नुभयो, “थारु समुदाय पुर्खोदेखि बंगुर पालन गर्दै आएको छ, तर पछिल्लो समय रैथाने जातको बंगुर लोप हुदै गएपछि संरक्षण गर्ने उद्देश्यले बंगुरका पाठापाठी बितरण गरेका छांै । जसले रैथाने जातको बंगुर संरक्षण हुनुका साथै, उक्त गाउँ बंगुरको स्रोत केन्द्रका रुपमा समेत बिकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।” समुहका किसानहरुलाई बंगुरका पाठापाठी बितरणसंगै दाना, भिटामिन र औषधी समेत बितरण गरिएको छ । बितरण गरिएका ४२ वटै बंगुरका पाठापाठीको पशु बिमा समेत गरिएको एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारियाका प्राबिधिक सहायक बिनोद मल्लाले बताउनुभयो । एनएलजी इन्सुरेन्स कम्पनी बर्दियाका अभिकर्ता गोपी चन्द्र बोहराले बंगरका पाठापाठीको पशु बिमा गर्नुभएको थियो ।


बंगुर बितरण पश्चात किसानहरुलाई बंगुर पालनसम्बन्धि तालिम पनि सञ्चालन गरिएको थियो । किसानहरुलाई बंगर पालन गर्दा ध्यान दिनु पर्ने कुरा, रोगबारे जानकारी, खाना, औषधी उपचार र बजारबारे जानकारी कार्यालयका नायब प्रशासन सहायक सोमन सिंह ठगुन्न र बढैयाताल गाउँपालिका पशु सेवा शाखाका प्रशासन सहायक बिमल पुन मगरले गराउनु भएको थियो ।

बंगुर पाएपछि किसानहरु एकदमै हर्षित भएकाछन् । पराम्परागत देखि नै बंगुर पालन गर्दै आएको स्थानीय किसान बच्चु लाल थारुले बंगरको पाठापाठी पाएपछि व्यवसायिक रुपमा बंगुर पालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, यहाँका किसानहरु बषौंदेखि नै पराम्परागत तरिकाले बंगुर पालन गर्दै आएकाछन् । अहिले हामीले समुहमा आबद्ध भै बंगुरको पाठापाठी पाएका छौ । अब यस कार्यक्रमबाट हामी किसानले व्यवसायिक रुपमा बंगुर पालन गरी गाउँको पहिचान नै स्थापित गर्ने बताउनुभयो । बंगर अनुदानमा पाउने भएपछि गाउँका किसानहरुले बंगुरको खोरको मर्मत तथा नयाँ निर्माण समेत गरेका थिए । बंगुरको पाठापाठी बितरण गर्नु भन्दा एक हप्ता अगाबै कार्यालयबाट ती खोरको अनुगमन समेत गरिएको थियो । कार्यक्रममा एकिृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारियाका लेखा अधिकृत खुसिराम थारु, प्रशासन सहायक दिनेश चौधरी लयायत् स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।









