पशुसेवा विज्ञ केन्द्रको चालु आर्थिक बर्षको कार्यक्रम सार्वजनिकीकरण

 

 

Advertisement

नेपालगन्ज, भदौ १६ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्ज, बाँकेले आर्थिक वर्ष २०८३/८४ का लागि पशुपन्छी उत्पादन तथा उत्पादकत्व वृद्धि केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको छ । केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तहका पशु प्राविधिकहरूसँग अन्तरक्रिया समेत गरेको छ। केन्द्रकी प्रमुख सपना लक्ष्मी घिमिरेले वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि ४ करोड ३१ लाख २ हजार रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो। गत आर्थिक वर्षमा केन्द्रको कुल बजेट ३ करोड ३१ लाख ५६ हजार रुपैयाँ थियो। भने गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये २ करोड ४३ लाख ७० हजार रुपैयाँ अर्थात् ७३ प्रतिशत खर्च भएको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा गत वर्षभन्दा केही नयाँ तथा उत्पादनमुखी कार्यक्रम थपिएका छन्। व्यवसायिक पशुपन्छी फर्ममा प्रयोग हुने विद्युत् महसुलमा सहयोगका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। भने यस वर्षको प्रमुख तथा नयाँ कार्यक्रमका रूपमा लुम्बिनी प्रदेशमा हुलाकी मार्ग लक्षित भैंसीको वंश सुधार तथा उत्पादकत्व वृद्धि आयोजना सञ्चालन हुनेछ। उक्त कार्यक्रमका लागि ६५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
भैंसीको नस्ल सुधारसँगै पशुपन्छीको आहार तथा दाना उत्पादन र गुणस्तर सुधारमा समेत केन्द्रले विशेष जोड दिएको छ । पशुपालनलाई व्यावसायिक तथा उत्पादनमुखी बनाउन गोठ सुधार मात्र नभई पशुको आहार, दाना उत्पादन तथा गुणस्तरमा समेत सुधार आवश्यक रहेको केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत भोजबहादुर रावलले बताउनुभयो ।
कार्यक्रममा उत्पादन प्रवद्र्धन, पशु विकास तथा पशु स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमका साथै सहकारी प्रवद्र्धन र मत्स्य विकासतर्फका कार्यक्रमबारे समेत जानकारी गराइएको थियो।
कार्यक्रममा बाँकेका ८ वटै स्थानीय तहका पशु सेवा शाखा प्रमुख तथा प्राविधिक र कृषकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तहमा पशु स्वास्थ्य तथा उत्पादनका क्षेत्रमा देखिएका समस्या, चुनौती र आवश्यकताबारे केन्द्रको ध्यानाकर्षण गराएको थिए।
कोहलपुर पशु सेवा शाखाका प्रमुख गोविन्दबहादुर रोकाय तथा कृषकहरू छक्कबहादुर विक र राम सुहावन यादवले केन्द्रका कार्यक्रम र पशुपालन क्षेत्रका विषयमा आफ्ना धारणा राख्नुभएको थियो।
स्थानीय तहका पशु प्राबिधिकहरुसंग अन्तरक्रियाका क्रममा रेबिज नियन्त्रणका लागि जोखिम क्षेत्र तथा पशुको पहिचान गरी लक्षित रूपमा काम गर्नुपर्ने, पशु खोपको प्रभावकारी तथ्यांक व्यवस्थापन गर्नुपर्ने तथा पशुरोगसम्बन्धी सूचना र जानकारी नियमित रूपमा आदानप्रदान गर्नुपर्ने निर्देशन समेत केन्द्रका प्रमुख घिमिरे दिनुभयो ।
स्थानीय तहका पशु प्राविधिकहरूलाई रोग नियन्त्रण तथा पशु स्वास्थ्य सेवाका लागि केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गर्दै केन्द्र प्रमुख घिमिरेले स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रको तर्फबाट आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु